आफैलाई हियाएर धनी हुने अज्ञानी कोसिस–नेपाली लघु कथा

कुनै एउटा गाउँमा एक गरीब मानिस बस्दथे, उनी यति गरिब थिए कि उनलाई आफ्नो हरेक दिनकाे राेजी-राेटीका लागि समेत धाै-धाै पर्दथ्याे । एक समयको कुरा हो, जब आलु फल्ने बेला आयो तब उनकै गाउँमा नजिकैका एक व्यापारी कृषकले उनलाई आफ्नो आलुको खेतमा केही दिनकाे लागि काम गर्न बाेलाए ।

उनी ती कृषककाे खेतमा आलु उखेल्ने काममा लागे । मेलाको पहिलाे दिन काम गरिसकेपछी ती कृषकले उनलाई पकाई खानको निम्ति ज्यालासंगै केही आलु पनि पोको पारिदिए, र उखेलेर सकेका खेतबाट आलुका सिलाहरु समेत बटुलेर लैजानु भनी अनुमति दिए । भनेजस्तै उनले त्यो दिन त्यहाँबाट आफ्नो निम्ति सिलाहरु समेत बटुले ।

मेला सकेर जब तिनी घर फर्किए तब उनकाे दिमागमा आफुपनि ती व्यापारी कृषक जस्तै धेरै पैसा कमाउने व्यक्ति बन्ने सपना जाग्न थाल्याे । त्यसका लागि उनी आफुले जम्मा गरेका ती आलु बेचेर ब्यापार तिर लाग्ने सोचे । उनले त्यस दिन कृषकले दिएका र बटुलेका सिला आलु पकाएर नखाई, अरूनै थाेरै केही खाएर सुते ।

दास्राे दिन पनि उठेर उनि आफ्नो कामतिर लागे, र अघिल्लाे दिन जस्तै त्याे दिनपनि उनले दिनभरि काम गरेको ज्याला संगै केही आलु पनि पाए । उनी घर फर्किए र त्यसलाई पनि नखाई थुपारेर राखे र आफू काममा लागेका अरू दिनहरूमा पनि तिनले त्यसैगरि थुप्रै आलुहरु बटुली ल्याए ।

जब केही दिनकाे मेला सकियाे उनले नखाई-नखाई जम्मा गरेकाे आलु बजारमा बेच्न लैजाने निधाे गरे ।भाेलि पल्ट झिसमिसेमै उनी आलुको धाग्राे उठाएर बजार तिर लागे ।आफ्नो घरबाट निस्किएर ऊनी केही टाढा मात्रै पुगेका थिए, तब अचानक बाटाेकाे ढुङ्गामा ठाेकिएर उनी लड्न पुगे ।

उनको आलुको धोग्रो पिठ्युँबाट फुस्कियो र आलुहरु जताततै छरिए । उनी आफ्नो चाेटकाे वास्तै नगरी आफ्ना छरिएका आलुहरु बटुल्न उठे, तब उनले देखे की उनका ती आलुहरू धेरैजसो कुही सकेका थिए र ती बजारमा लगेर मोलभाउ गरि बेच्न लायकका थिएन ।

उनले झल्यास्स सम्झे कि मेलाको पहिलो दिनमा नै जब आफुले सिलाहरु बटुल्दा, आजै पकाइखाने त हो भनी केही बिग्रन लागेका आलुपनि धोग्रोमा हालेका थिए । बिग्रेको एउटा आलुले अरु जम्मै सद्दे आलु बिगार्छ भन्ने आहान पनि उनको दिमागमा घुम्न थाल्यो । उनी केहीबेर रनभुल्लमा परे, र अक्क न बक्क भए ।

तब कयौँ दिन देखेको सपना र आफ्नो भुललाई सोच्दै ऊनी अफसोसी हाँसो हाँस्न थाले । केहीबेर पछी छरिएका मध्य सद्दे आलुहरु बटुलेर पोको पारे, र सुर्ताउँदै बाँकी रहेका थोरै सद्दे आलु बोकेर आफ्नो बाटो लागे । त्यस दिन बाटोभरी आफुले ती आलुहरु व्यग्र भोक लागेको बेलामा समेत पकाएर नखाएकाेमा ठूलो पछुतो गर्दै ऊनी आफ्नो घर फर्किए ।

साथीहरू, यो सानो कथाबाट पक्कैपनि हामी केहीकुरा सिक्न सक्छौँ, ती गरिब व्यक्ति कतै खराब थिएनन्, न त उनको सपना नै खराब थियो । केबल आफ्नो सपनालाई पछ्याउन उनले अपनाएका केही उपायहरु अनुपयुक्त थिय । सपना साकार गर्ने उनकाे आफ्नै उपाय ऊनी आफैप्रती अन्यायपुर्ण, र आफैलाई दुःख पुर्याउने थियो ।

हामी पनि कतिपल्ट आफ्ना आधारभूत खाँचाहरुलाई समेत पूरा नगरेर, सपनाहरु पुरा गर्नतिर लाग्छौँ, जुन पूरा हुनेछ भन्ने सुनिश्चितता समेत कतिपल्ट हामिसित हुँदैन । हो, हामी हाम्रा सपना र महत्वाकांक्षाहरु पुरा गर्न हरतरहले लाग्नुपर्छ, तर आफैलाई हियाएरचाहिँ होईन । किनकि हामीले हाम्रो आफ्नै निम्ति देखेका सपनाहरु भन्दा हामि आफैचाहीँ अझ बढी महत्वपूर्ण हुन्छौं ।

Comments

Popular posts from this blog

स्वार्थी चतुर्‍याँइले झन् खराबी निम्त्याउँछ–नेपालीमा जोक

बोलेका शब्दहरु फिर्ता हुँदैनन् –नेपालीमा छोटो लघुकथा